जलवायु र वातावरण तथ्यजाँच भ्रामक सूचना वागमती

‘मुग्लिङको पहिरो’ भन्दै भाइरल भिडियोको तथ्य के हो ?


‘मुग्लिङको पहिरो’ भन्दै भाइरल भिडियोको तथ्य के हो ?

सामाजिक सञ्जालमा पछिल्लो समय मुग्लिङको पहिरो भन्दै एउटा भिडियो भाइरल बनेको छ । मनसुन सुरु हुनुअघि नै नेपालका राजमार्गहरू पहिरोको जोखिममा परेको र मुग्लिङ क्षेत्रमा देखिएको अवस्था चिन्ताजनक भएको दाबीसहित भिडियो भाइरल बनेको हो । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडियो नेपालको नभई भारतको अरुणाचल प्रदेशको भएको पुष्टि गरेको छ ।

के हो दाबी ?
दुई लाख २१ हजार फलोअर्स भएको बेतना दैनिक नामक फेसबुक पेजमा मंगलबार (मे ५, २०२६) बिहान ७:३२ मा एउटा भिडियो पोस्ट भयो ।

गाडीले व्यक्त सडकमा माथिबाट पहिरो झरेको दृश्य देखिने भिडियोको शीर्षकमा लेखिएको छ, “मनसुन सुरु हुनुअघि नै हाम्रा राजमार्गहरू पहिरोको जोखिममा परेका छन् । मुग्लिङ क्षेत्रमा देखिएको यो अवस्था निकै चिन्ताजनक छ । भिडियो: महानन्द तिमल्सिना”

१५ सेकेन्डको उक्त भिडियोमा ‘मुग्लिङको पहिरो हेर्नु, मुग्लिङको पहिरो ।’ लगायत बोलिएको आवाज सुन्न सकिन्छ ।

हामीले तथ्यजाँच गर्दै गर्दा उक्त भिडियोमा १३८ लाइक, १२ कमेन्ट र चार पटक शेयर गरिएको छ भने उक्त भिडियोलाई १५ हजार बढी पटक हेरिएको छ ।

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन सट :

उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्कअर्काइभ भिडियो

सोही भिडियोलाई लाइभ न्युज रफ्तार (लिङ्क/अर्काइभ लिङ्क), अभिमन्यु पटेल कुर्मी जर्नालिष्ट (लिङ्क/अर्काइभ लिङ्क) लगायतका फेसबुक पेज तथा एकाउन्टहरूमा पनि अपलोड गरिएको छ ।

के हो तथ्य ?
तथ्यजाँच गर्ने क्रममा भाइरल भिडियोबाट केही दृश्यहरूको स्क्रिन सट गुगलमा रिभर्स इमेज सर्च गर्‍यौ । सो क्रममा भारतबाट सञ्चालित द गुवाहाटी टाइम्स नामक फेसबुक पेजमा २०२५ अगस्ट २६ मा अपलोड गरिएको भिडियो भेट्यौं ।

“Massive Landslide hits Dirang-Tawang Road in Arunachal Pradesh” (अरुणाचल प्रदेशको दिराङ-तवाङ सडकमा ठूलो पहिरो) लेखिएको उक्त भिडियो अहिले नेपालमा भाइरल भएको भिडियोसँग ठ्याक्कै मिल्छ । अरुणाचल प्रदेश भारतको उत्तर पूर्वी राज्य हो।

साथै, शीर्षकमा लेखिएको छ (नेपाली अनुवाद),
‘अरुणाचल प्रदेशको पश्चिम कामेङ जिल्लाको दिराङ उपविभागको सप्पर क्याम्प नजिकै रहेको पद्मा होटेल नजिकै सोमबार (अगस्ट २५) दिउँसो भारी पहिरोले बालीपारा–चारदुआर–तवाङ (बीसीटी) सडक अवरुद्ध पारेको छ । पहिरोले पद्मा होटेल नजिकै लगभग १२० मिटरको खण्ड अवरुद्ध पारेको छ ।’

हेर्नुहोस्, उक्त भिडियोको स्क्रिन रेकर्ड :

उक्त पेजमा अपलोड गरिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

हामीले थप पुष्टिको लागि ‘दिराङ–तवाङ सडक खण्ड अवरुद्ध’ लगायतका की वर्डहरू राखेर सर्च गर्‍यौ । अरुणाचल अब्जर्भर, एनडीटिभी लगायतका सञ्चारमाध्यमहरूमा पनि सोही पहिरोबारे समाचारहरू प्रकाशित भएका छन् ।

नर्थइस्ट मिडिया हब, द सेभेरा टाइम्स, इन्डिया टुडे एनई लगायतका आधिकारिक युट्युब च्यानलमा पनि अरुणाचलको दिराङ–तवाङ सडकमा पहिरो लगायतका शीर्षकसहित सोही भिडियोहरू अपलोड गरिएको छ ।

तथ्य जाँच
दाबी : मुग्लिङको पहिरो भन्दै भाइरल भिडियो ।

दाबीकर्ता : बेतना दैनिक, लाइभ न्युज रफ्तार र अभिमन्यु पटेल कुर्मी जर्नालिष्ट लगायतका फेसबुक पेज र एकाउन्टहरू

तथ्य : भ्रामक (MisLeading)। मुग्लिङको पहिरो भन्दै भाइरल भिडियो नेपालको नभई भारतको अरुणाचल प्रदेशको भएको हाम्रो तथ्य जाँचबाट पुष्टि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add