तथ्यजाँच भ्रामक सूचना सुदूरपश्चिम

‘भ्यागुता खाँदै गरेको सर्प’ भन्दै मिडियाले राखेको फोटो ‘हरियाउ (हरेऊ)’ प्रजातिको होइन


‘भ्यागुता खाँदै गरेको सर्प’ भन्दै मिडियाले राखेको फोटो ‘हरियाउ (हरेऊ)’ प्रजातिको होइन

राष्ट्रिय समाचार समिति (रासस) र मुख्यधारका अनलाइन सञ्चारमाध्यमहरूले कञ्चनपुरमा भ्यागुता खाँदै गरेको सर्पको तस्बिरलाई ‘हरियाउ (हिरुवा)’ भन्दै सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको अनुसन्धान तथा विज्ञहरूसँगको कुराकानीले उक्त तस्बिरमा देखिएको सर्प हरियाउ (हरेऊ) नभई गैर-विषालु ‘हरहरा (बफ-स्ट्राइप्ड किलब्याक)’ प्रजातिको भएको पुष्टि भएको छ।

के हो दाबी ?
अनलाइन खबर डटकमको फेसबुक पेजमा २०८३ जेठ २१ गते (बिहीबार) बिहान ९:१५ बजे एउटा फोटो पोस्ट गरियो, जसमा एउटा सर्पले भ्यागुता निलिरहेको देखिन्छ।

समाचारको क्याप्सनमा लेखिएको छ:

“कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयनजिक भ्यागुता खाँदै गरेको हिरुवा (हरियाउ) सर्प। स्थानीय समुदायले हिरुवा नामले चिन्ने यस सर्पलाई अङ्ग्रेजीमा बफस्ट्राइप्ड किलब्याक भन्ने गरिन्छ। एसियामा पाइने गैर विषालु यो सर्प एम्फिएस्मा प्रजातिको एक मात्र प्रजातिका रूपमा रहेको छ।” तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

हेर्नुहोस्, उक्त फोटोको स्क्रिन सट :

उक्त फोटोको लिङ्कअर्काइभ लिङ्क

राष्ट्रिय समाचार समिति (रासस) द्वारा वितरित उक्त तस्बिर र विवरणलाई सोही दिन बिहान ११:०७ बजे हिमाल प्रेस डटकमले पनि आफ्नो वेबसाइटमा “भ्यागुता खाइरहेको हिरुवा (हरियाउ) सर्प” शीर्षकमा प्रकाशित गरेको छ।

हेर्नुहोस्, स्क्रिनसट :

उक्त फोटो प्रकाशित भएको सामग्रीको लिङ्कअर्काइभ लिङ्क

यसबाहेक अन्य धेरै फेसबुक पेज तथा एकाउन्टहरूमा पनि सोही फोटोलाई अपलोड गरिएको छ ।

प्रभाव

नेपालको सरकारी समाचार एजेन्सी रासस र अनलाइनखबर जस्ता स्थापित सञ्चारमाध्यमबाट यो सामग्री पोस्ट भएपछि यसले सामाजिक सञ्जालमा द्रुत प्रतिक्रिया पाएको छ। हामीले तथ्य-जाँच गर्दासम्म अनलाइनखबरको पोस्टमा मात्रै ५१७ भन्दा बढी लाइक, ३० कमेन्ट र सेयर भइसकेका छन् भने अन्य फेसबुक पेज र एकाउन्टहरूले पनि यसलाई वास्तविक विवरण मान्दै सेयर गरिरहेका छन्।

के हो तथ्य ?

तथ्य-जाँच प्रक्रियाका क्रममा हामीले सुरुमा भाइरल तस्बिरलाई गुगल रिभर्स इमेज  र सरीसृप सम्बन्धी खुला स्रोत डेटाबेसहरूमा खोज्यौँ।

  • प्रजाति पहिचान: वैज्ञानिक वर्गीकरण अनुसार तस्बिरमा देखिएको सर्प ‘बफ-स्ट्राइप्ड किलब्याक’ (Amphiesma stolatum) नै हो। थाइल्याण्ड नेशनल पार्क तथा अन्तर्राष्ट्रिय स्नेक डेटाबेसहरूका अनुसार यो एसियामा पाइने एकदमै सामान्य, गैर-आक्रामक र गैर-विषालु (Non-venomous) सर्प हो, जसको मुख्य आहारा नै भ्यागुता र मुसाहरू हुन्।

  • नामको त्रुटि: दाबीमा यसलाई ‘हिरुवा’ वा ‘हरियाउ (हरेऊ)’ भनिएको छ। तर स्थापित वैज्ञानिक तथ्य र ‘नेपालको विषालु सर्पहरू सम्बन्धी निर्देशिका’ अनुसार नेपालमा ‘हरियाउ’ वा ‘हरेऊ’ भन्नाले पिट भाइपर (Trimeresurus septentrionalis वा Trimeresurus albolabris) प्रजातिलाई बुझाउँछ, जुन हरियो रंगका र अत्यधिक विषालु (Venomous) हुन्छन्।

हेर्नुहोस्, विभिन्न वेवसाइटमा प्रकाशित बफ–स्ट्राइप्ड किलब्याकसम्बन्धि जानकारीहरू


उक्त सामाग्रीको लिङ्क यहाँ छ


उक्त सामाग्रीको लिङ्क यहाँ छ

थाइ नेशनल पार्कले आफ्नो वेबसाइटमा प्रकाशित गरेअनुसार बफ स्ट्राइप्ड किलब्याक (एम्फिस्मा स्टोलाटम) एसियाभरि पाइने गैर–विषालु कोलुब्रिड सर्पको प्रजाति हो । यो सामान्यतया भ्यागुता खाने गैर–आक्रामक सर्प हो । यो एकदमै सामान्य सर्प हो तर विरलै देखिन्छ ।

हेर्नुहोस्, थाइ नेशनल पार्कमा प्रकाशित सामग्री

उक्त सामाग्रीको लिङ्क यहाँ छ

विज्ञको मत

हामीले यसबारे थप प्रामाणिक पुष्टिका लागि त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्रका प्राध्यापक एवं सर्पविज्ञ करन शाहसँग सम्पर्क गर्‍यौँ। तस्बिरको विश्लेषण गर्दै उहाँले भन्नुभयो:

“यो बिल्कुलै हरेऊ (हरियाउ) सर्प होइन। यो सर्पको वास्तविक रैथाने नाम हररा, हरहरा, बाहुने साँप, बगाले साँप वा गाई साँप हो। यो गैर-विषालु र अत्यन्तै शान्त स्वभावको सर्प हो, जुन वर्षायाममा तराईका भूभागमा प्रचुर मात्रामा देखिन्छ। यसलाई विषालु हरेऊ भन्नु प्राविधिक रूपमा गलत हो।”

२०७१ असोज २३ गते अनलाइनखबरमा प्रकाशित ‘हरेऊले टोकेर मान्छे मर्छ कि मर्दैन ?’ शीर्षकमा प्रकाशित एक सामाग्रीमा वनस्पति शास्त्रका प्राध्यापक तथा जीवजन्तु तथा वनस्पतिबारे खोज अनुसन्धानकर्ता कमल मादेनले वास्तविक हरेऊ सर्प पूर्ण रूपमा हरियो वा हल्का पहेंलो र पुच्छर रातो हुने प्रकृतिको हुन्छ भनेका छन् जुन भाइरल तस्बिरको सर्पसँग मेल खाँदैन।

तथ्यजाँच
दाबी : ‘भ्यागुता खाँदै गरेको हिरुवा (हरियाउ) सर्प’ भन्दै भाइरल फोटो ।

दाबीकर्ता : अनलाइनखबर, हिमाल प्रेस, राष्ट्रिय समाचार समिति लगायतका सञ्चारमाध्यम ।

तथ्य : भ्रामक (Misleading) । तस्बिरमा सर्पले भ्यागुता खाँदै गरेको घटना सत्य भए पनि उक्त सर्प ‘हरियाउ’ वा ‘हरेऊ’ प्रजातिको होइन। वैज्ञानिक वर्गीकरण र विज्ञहरूको पुष्टि अनुसार यो गैर-विषालु ‘हरहरा (बफ-स्ट्राइप्ड किलब्याक)’ सर्प हो। सञ्चारमाध्यमहरूले गैर-विषालु सर्पलाई विषालु ‘हरियाउ’ नाम दिएर समाचार सम्प्रेषण गर्दा आम पाठकमा भ्रम पर्न गएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add