मिथ्या सूचना: के गर्ने?
मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो ।
मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ ।
यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ ।
- कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।
- समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस्।
- शङ्कास्पद सामग्रीमा तथ्यजाँचका लागि हामीलाई यहाँ सुझाव दिनुहोस्।
- कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
- सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।
- सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।
- मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।
- कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।
- कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए कमेन्टमार्फत जानकारी गराउनुहोस् ।
- कुनै सामग्री मिथ्या भए त्यो प्रकाशित सोसल मिडियामा रिपोर्ट गर्न सकिन्छ । भाषागतरूपमा नेपाली भाषामा प्रकाशित सामग्रीका लागि यो त्यति उपयोगी नभए पनि गलत फोटो प्रयोग गरेको अवस्थामा उपयोगी हुन सक्छ ।