तथ्यजाँच मिथ्या सूचना

देउवासम्बन्धी अनलाइनखबरको समाचारको ‘फेक फेसबुक पेज स्क्रिनसट’ भाइरल


देउवासम्बन्धी अनलाइनखबरको समाचारको ‘फेक फेसबुक पेज स्क्रिनसट’ भाइरल

अनलाइनखबरको भेरिफाइड फेसबुक पेजमा प्रकाशित जस्तो देखिने एउटा स्क्रिनसट बुधबार (२०८० माघ ३ गते) सामाजिक सञ्जालमा भाइरल भयो जसमा लेखिएको छ- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा मरेका छन् ।’ पोस्टमा अनलाइनखबरको समाचारको लिङ्क छ जसको शीर्षक छ- ‘देउवा आफ्नै निवास बूढानीलकण्ठ मरे’

तर हाम्रो तथ्य जाँचले अनलाइनखबरमा यस्तो समाचार प्रकाशित नभएको र सम्पादन गरी फेक स्क्रिनसट बनाएको देखियो।

यस्तो छ भाइरल स्क्रिनसट

फेसबुकमा भाइरल भएको अनलाइनखबरको फेसबुक पेजको जस्तो देखिने स्क्रिनसट। 

बुधबार दिउँसो अनलाइनखबरको जस्तो देखिने एउटा स्क्रिनसट सामाजिक सञ्जालका ग्रुप, पेज र व्यक्तिगत वालमा भाइरल भयो। हामीलाई पनि हाम्रो ह्वाटसएप ग्रुपमा यसको तथ्य जाँचका लागि अनुरोध गर्दै स्क्रिनसट आए।

हाम्रो ह्वाटसएप ग्रुपमा आएको एउटा स्क्रिनसट यस्तो थियो-

हाम्रो ह्वाट्सएप (9886069780) मा आएको स्क्रिनसट।

भाइरल भएका सबै स्क्रिनसटहरुमा एउटा समानता छ। ती स्क्रिनसटहरुमा  ‘2 m’ र चार वटा मात्र रियाक्सन देखिन्छ।

 

के हो तथ्य ?

अनलाइनखबरमा साँच्चै यस्तो समाचार प्रकाशन भएको र पछि सच्याएको हो कि भन्ने विषयमा तथ्य जाँचका लागि हामीलाई अनुरोध आएको थियो।

यसको तथ्य जाँचका लागि हामीले अनलाइनखबरको आधिकारिक फेसबुक पेजमा हेर्‍यौँ। त्यहाँ भाइरल भएको स्क्रिनसट जस्तै कन्टेन्ट र लिङ्क छ मात्र एउटा अक्षर ‘सरेका’ को ठाउँमा ‘मरेका’ र ‘सरे’को ठाउँमा ‘मरे’ देखिन्छ।

हामीले यो पोस्टमा भएका केही कमेन्ट पनि हेर्‍यौँ। २ लाख ६९ हजार फलोअर्स भएका इशा गुरुङले ‘किन मरे भनेको अलि अघि न ?’ लेखेकी छिन्। कतिखेर भन्ने एउटा प्रश्नको जवाफमा उनले ‘सच्चाउनु भो’ पनि लेखेकी छिन्।

अरु केही कमेन्टहरु पनि हामीले यस्तै पायौँ-

 

अनलाइनखबरको यो फेसबुक पोस्ट सम्पादित हो कि होइन भनी हामीले हेर्‍यौँ। तर त्यसमा सम्पादन भएको देखिएन।

पोस्ट सम्पादन गरिएको भए पोस्टको दायाँ छेउको तीन थोप्लामा क्लिक गर्दा View edit history देखिन्छ र त्यसमा पहिले के लेखिएको थियो र अहिले के लेखिएको छ, पारदर्शी रुपमा देखिन्छ। उदाहरणका लागि हेर्नुस् माइसंसारको फेसबुक पेजमा देखिएको View edit history

हामीले अनलाइनखबरको वेबपेजमा गएर हेर्दा भने ‘देउवा धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठ सरे’ शीर्षक देखिएको छ। जबकि, फेसबुक पेजमा ‘देउवा आफ्नै निवास बूढानीलकण्ठ सरे’ मात्र देखिएको छ।

हामीले एग्रिगेटर एप हाम्रोपात्रोको फिड पनि हेर्‍यौँ। अनलाइनखबरले सुरुमा गलत हेडलाइन हालेको भए हाम्रोपात्रोको फिडमा त्यही देखिन्थ्यो। तर हाम्रोपात्रोको फिडमा पनि ‘देउवा  आफ्नै निवास बूढानीलकण्ठ सरे’ मात्र देखिएको छ।

हाम्रोपात्रोको फिडमा देखिएको हेडलाइनको स्क्रिनसट।

हामीले अनलाइनखबरका डेस्क सम्पादक विनोद ढकालसित पनि यसबारे सोध्यौँ। उनले भने, ‘ त्यो स्क्रिनसट हाम्रोमा पनि आइपुगेपछि डेस्कमा हल्ला भएको थियो, कतै साँच्चै गल्ती त भएको थिएन भनेर। तर रिपोर्टरले पठाएको र सम्पादन गरेको समाचार हेर्दा त्यस्तो थिएन। त्यतिन्जेल त्यो स्क्रिनसट भाइरल भइसकेको थियो र अनलाइनखबरको कार्यालयमा पनि जे पायो त्यही लेख्ने भन्दै फोनमा गालीहरु पनि आएका थिए।’

उनले हामीलाई कांग्रेस बिट हेर्ने रिपोर्टर लिलु डुम्रेले इमेलमा पठाएको समाचार र त्यसलाई डेस्कले वर्ड फाइलमा सम्पादन गरेको समाचारको स्क्रिनसट पनि पठाए। त्यसमा पनि ‘सरे’ नै लेखिएको छ।

रिपोर्टरले लेखेको इमेलमा पठाएको समाचारको स्क्रिनसट 

सम्पादन भएको समाचारको स्क्रिनसट।

ढकाललेे सुरुमा ‘देउवा आफ्नै निवास बूढानीलकण्ठ सरे’ हेडलाइन राखेको भए पनि पछि प्रष्ट पार्न ‘धुम्बाराहीबाट’ थपेर ‘देउवा धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठ सरे’ बनाइएको पनि प्रष्ट पारे।

अनलाइनखबरले आफ्नो आधिकारिक फेसबुक पेजबाट पनि आफूहरुले ‘नलेखेको शीर्षकलाई लिएर अफवाह फैलाएको’ भन्दै ‘अनुसन्धान गर्न नेपाल प्रहरीको ध्यानाकर्षण’ गराएको छ।

फेसबुक पोस्ट लिङ्क। 

हामीले गुगलको क्यास र अर्काइभमा पनि खोज्यौँ, तर भाइरल भएको स्क्रिनसट जस्तो शीर्षक प्रकाशन भएको भेटेनौँ। तसर्थ हामी भाइरल गरिएको स्क्रिनसट मिथ्या भएको निश्कर्षमा पुग्यौँ।

यसअघि पनि स्थापित मिडियामा प्रकाशित झैँ देखिने गरी नक्कली स्क्रिनसट भाइरल भएको विषयमा हामीले तथ्य जाँच गरिसकेका छौँ-

स्थापित मिडियाका अनलाइनमा प्रकाशन भए झैँ देखिने मिथ्या स्क्रिनसट भाइरल

के हो राष्ट्रपतिबारे सेतोपाटीमा छापिएको भन्दै भाइरल भएको स्क्रिनसटको तथ्य?

 

तथ्य जाँच

दावी : ‘देउवा आफ्नै निवास बूढानीलकण्ठ मरे’ शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशन गर्‍यो।

दावीकर्ता : सोसल मिडिया प्रयोगकर्ता।

तथ्य : मिथ्या सूचना। हामीले फेसबुक पोस्टको एडिट हिस्ट्री, गुगल क्यास, अर्काइभ र हाम्रोपात्रोको फिडमा खोज्दा भाइरल भएको जस्तो शीर्षक प्रकाशन भएको भेटेनौँ। अनलाइनखबरका रिपोर्टरले इमेलमा पठाएको र अनलाइनखबरमा प्रकाशन गर्नुअघि वर्ड फाइलमामा सम्पादन गरिएको समाचारमा पनि गलत शीर्षक भेटेनौँ। भाइरल भएको स्क्रिनसट एउटै खालको भएकोले पनि यो वास्तविक स्क्रिनसट नभई कसैले सम्पादन गरेको मिथ्या स्क्रिनसट भएको निश्कर्षमा हामी पुग्यौँ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add