- सुरज घिमिरे
- माघ १४, २०८२

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन
नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगनकुमार थापा जनताबाट लखेटिएको दावी गरिएका फोटो सामाजिक सञ्जालमा देखिएको छ। तर, हाम्रो तथ्य जाँचले त्यो फोटो एआई निर्मित मिथ्या भएको पुष्टि गरेको छ।
के हो दाबी ?
मिस पबि ४१ (Miss Pabi 41) नामको फेसबुक पेजमा मंगलबार बिहान नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगनकुमार थापालाई प्रहरीले समातेको र वरपर मानिसहरूको भीड लागेको फोटो सार्वजनिक भयो। शीर्षकमा लेखिएको छ, ‘भोट माग्न जाँदा सर्लाही ४ का जनताबाट गगन थापा लखेटिए, सही कि गलत कमेन्ट गर्नुहोला।’
उक्त फेसबुक पोस्टमा हामीले तथ्य जाँच गर्दासम्म तीन हजार ३ सय बढी लाइक, एक हजार ६ सय कमेन्ट र एक सय ५१ पटक शेयर गरिएको छ।
उक्त फेसबुकमा पोस्ट गरिएको फोटोको लिङ्क :
के हो तथ्य ?
हामीले उक्त दाबीको तथ्य जाँचको क्रममा गगन थापा जनताबाट लखेटिएको कुनै पनि समाचार फेला पार्न सकेनौँ।
त्यसपछि हामीले गुगलबाट Synth ID पनि परीक्षण गर्यौँ। गुगलको Synth ID Check भनेको गुगलले विकास गरेको SynthID प्रविधि हो, जसले एआईले बनाएको फोटो, अडियो, भिडियो वा टेक्स्टमा अदृश्य डिजिटल वाटरमार्क राख्छ र त्यसको माध्यमबाट सामग्री एआई जेनेरेटेड हो कि होइन भनेर पहिचान गर्न मद्दत गर्छ।
गुगलले यो फोटोमा अदृश्य वाटरमार्क रहेको देखायो। यसको अर्थ हो- फोटो एआईबाट बनेको पुष्टि हुनु।
त्यसपछि हामीले उक्त तस्वीरलाई इमेजह्विस्पररमा जाँच गर्यौँ। इमेज ह्विस्पररले उक्त तस्वीर एआई निर्मित भएको पुष्टि गर्यो।
हेर्नुहोस्, इमेज ह्विस्पररमा गरिएको तस्वीर जाँचको नतिजा :

हामीले उक्त तस्वीरलाई हाइभ मोडरेसन पनि जाँच गर्यौ । हाइभ मोडरेसनले पनि तस्वीर एआई निर्मित भएको नतिजा निकाल्यो ।
हेर्नुहोस्, हाइभ मोडरेसन गरिएको तस्वीर जाँचको नतिजा :

तथ्य जाँच :
दावी : गगन कुमार थापा सर्लाही क्षेत्र नं. ४ का जनताबाट लखेटिएको भन्दै गरिएको दाबी ।
दावी कर्ता : मिस पवि ४१ नामक फेसबुक पेज ।
तथ्य : मिथ्या सूचना। गगनकुमार थापा सर्लाही क्षेत्र नं. ४ का जनताबाट लखेटिएको भन्दै दाबीका साथ भाइरल भएको फोटो एआई निर्मित हो।

