तथ्यजाँच मिथ्या सूचना वागमती

प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिएको भनिएको भिडियो एआई निर्मित, दाबी मिथ्या


प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिएको भनिएको भिडियो एआई निर्मित, दाबी मिथ्या

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चेतावनी दिएको दाबीसहितको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, नेपाल फ्याक्ट चेकको प्राविधिक परीक्षणले उक्त भिडियो एआई प्रयोग गरी बनाइएको र दाबी पूर्णतः मिथ्या रहेको पुष्टि गरेको छ। 

के हो दावी ?

६६ हजार फलोअर्स रहेको ‘B-rendra Kc’ नामका फेसबुक प्रयोगकर्ताले मे ४, २०२६ मा १६ सेकेन्डको एक भिडियो क्लिप पोस्ट गरेका छन्। उक्त भिडियोमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सांसद हर्क साम्पाङलाई चेतावनी दिँदै सरकारको विरोध गरिरहे सुरक्षाक लागि खटाइएका सुरक्षाकर्मीहरु हटाउन बाध्य हुने र सांसद पद समेत निलम्बन हुन सक्ने भनेको सुनिन्छ। भिडियोमा साम्पाङको तस्बिर समेत प्रयोग गरिएको छ।

भाइरल भिडियोको प्रभाव

यो तथ्य जाँच तयार पार्दासम्म उक्त भिडियोलाई ४ लाखभन्दा बढी पटक हेरिएको छ भने १ हजार बढी रियाक्सन, ६५४ कमेन्ट र १,६०० पटक शेयर गरिएको छ।

हेर्नुहोस् B-rendra Kc को स्क्रिन रेकर्ड

भिडिओ लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

हामीले यस भिडियोको सत्यता जाँच्न प्राविधिक र कानुनी दुवै पक्षबाट अनुसन्धान गर्‍यौं।

१. प्राविधिक परीक्षण

भिडियोलाई गुगलको SynthID प्रविधिमार्फत परीक्षण गर्दा, भिडियोको सुरुदेखि अन्त्यसम्मको आवाज एआई निर्मित (AI Generated) र सम्पादन गरिएको पुष्टि भयो। भिडियोमा देखिने दृश्य पुराना दृश्यका फ्रेमहरूसँग मिले पनि आवाज भने पूर्ण रूपमा कृत्रिम हो।

हेर्नुहोस् synthID ले दिएको नतिजा

२. संवैधानिक र कानुनी व्यवस्था

प्रहरी महानिरीक्षक (सुरक्षा निकाय) ले निर्वाचित सांसद (व्यवस्थापिका) लाई निलम्बन गर्ने धम्की दिनु लोकतान्त्रिक शक्ति पृथकीकरणको सिद्धान्त विपरितको कुरा हो।

नेपालको संविधान र प्रचलित कानुन अनुसार प्रहरी महानिरीक्षकसँग सांसदको पद निलम्बन गर्ने वा हटाउने कुनै पनि कानुनी अधिकार हुँदैन

  • सांसदको पद रिक्तता: नेपालको संविधान २०७२ को धारा ८९ अनुसार संघीय सांसदको पद रिक्त हुने विशिष्ट अवस्थाहरू (राजिनामा, मृत्यु, योग्यता नपुगेको वा दल त्याग) तोकिएको छ। प्रहरी महानिरीक्षक वा कुनै कार्यकारी अधिकारीले भन्दैमा सांसद पद निलम्बन हुन सक्दैन।

  • सुरक्षाकर्मी व्यवस्थापन: विशिष्ट व्यक्तिहरूलाई सुरक्षाकर्मी उपलब्ध गराउने वा फिर्ता लिने निर्णय गृह मन्त्रालयको कार्यविधि अनुसार हुन्छ। सांसदलाई सुरक्षाकर्मी दिने विषयमा प्रहरी महानिरीक्षकको व्यक्तिगत चेतावनी कानुनी रूपमा आधारहीन छ।

३. भिडियोको स्रोत

दृश्यलाई सूक्ष्म रूपमा नियाल्दा, यो भिडियो वैशाख १४, २०८३ मा नेपाल फ्याक्ट चेकले नै खण्डन गरेको अर्को एक एआई भिडियोको फ्रेम प्रयोग गरी बनाइएको पाइएको छ।

पढ्नुहोस् नेपाल फ्याक्टचेकको यसअघिको तथ्यजाँच

सुधन गुरुङबारे आईजीपी दानबहादुर कार्कीको भाइरल भिडियो ‘एआई’बाट बनेको

तथ्यजाँच

दावी : प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिँदै बोलेको भिडिओ

दावीकर्ता : B-rendra Kc नाम गरेका फेसबुक प्रयोगकर्ता

तथ्यजाँच/निश्कर्ष : मिथ्या (False)। प्रहरी महानिरीक्षकसँग सांसद पद निलम्बन गर्ने कुनै संवैधानिक अधिकार छैन। प्राविधिक जाँचले भिडियोको आवाज एआईबाट सिर्जना गरिएको पुष्टि गरेको छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add