तथ्यजाँच भ्रामक सूचना

‘नयाँ पत्रिका’मा प्रकाशित मतपत्र बदर हुने अवस्थाबारे चित्र गलत


‘नयाँ पत्रिका’मा प्रकाशित मतपत्र बदर हुने अवस्थाबारे चित्र गलत

नयाँ पत्रिका राष्ट्रिय दैनिकको २०७९ वैशाख २५ गतेको अङ्कको प्रमुख समाचारमा ‘पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान’ शीर्षकमा मुख्य समाचार छापिएको छ। समाचारसँगै मतपत्र बदर हुने ६ कारण शीर्षकमा चित्रसहित अवस्था व्याख्या गरिएको छ। तर हाम्रो तथ्य जाँचमा सो चित्र निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि तयार पारेको प्रचार सामग्री भएकोले २०७९ को स्थानीय तह निर्वाचनको सन्दर्भमा यसको प्रयोग गलत हुने देखिएको छ।

के छ समाचारमा ?

मुख्य समाचार (हेर्नुस् अर्काइभ लिङ्क) को यस्ता छन् मत बदर हुने ६ कारण शीर्षकमा मत बदर हुने विभिन्न अवस्था बारे चित्र सहित बुझाइएको छ। चित्र र त्यसको व्याख्या यस्तो छ-

तर नयाँ पत्रिकाले उपयोग गरेको यो चित्र निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि तयार पारेको सामग्री भने होइन।

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले यो चित्रको आधारमा खोज्दै जाने क्रममा निर्वाचन आयोग नेपाल नामको फेसबुक पेजमा डिसेम्बर १, २०१७ मा अपलोड गरिएको यो सामग्रीमा पुग्यौँ। हेर्नुस् लिङ्क

यसमा प्रयोग भएको चित्र र नयाँ पत्रिकाले आज अपलोड गरेको चित्र हुबहु छ।

तर यो स्थानीय निर्वाचनका लागि नभएर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ का लागि तयार पारिएको प्रचार सामग्री थियो। त्यतिबेला रातो मतपत्र समानुपातिक निर्वाचन प्रणालीका लागि बनाइएको थियो। एउटै कागजमा भए पनि माथिल्लोलाई मतपत्र १ भनिएको थियो, जसमा प्रतिनिधि सभाका लागि कुनै दललाई समानुपातिक प्रणालीतर्फको मत दिन पाइन्थ्यो भने मुनिलाई मतपत्र २ भनिएको थियो जसमा प्रदेश सभाका लागि मत दिन पाइन्थ्यो।

यसलाई निर्वाचन आयोगको यो प्रचार सामग्रीले पनि स्पष्ट पार्छ-

समानुपातिकतर्फको रातो मतपत्रमा मतपत्र १ र मतपत्र २ मा एउटा मात्र छाप लगाउनु पर्थ्यो। एक भन्दा बढी छाप लगाएमा त्यस्तो मत बदर हुन्थ्यो। आयोगले त्यतिबेला तयार पारेको सामग्री-

हेर्नुस् त्यतिबेलाको समानुपातिकतर्फको प्रदेश ३ को मतपत्रको नमूना। 

अहिलेको स्थानीय तहको निर्वाचनको मतपत्र भने फरक हुन्छ। अहिलेको मतपत्रमा एउटै कागजमा ६ वटा मतपत्र राखिएको छ।

त्यसमध्ये पहिलोले नगरपालिका/गाउँपालिका प्रमुख/अध्यक्ष

दोस्रोले नगरपालिका/गाउँपालिका उपप्रमुख/उपाध्यक्ष

तेस्रोले वडाध्यक्ष

चौथोले महिला वडा सदस्य

पाँचौँले दलित महिला वडा सदस्य

छैटौँले खुलातर्फ दुई वडा सदस्यलाई मतदान गर्न सकिने निर्वाचन आयोगको यो प्रचार सामग्रीमा स्पष्ट पारिएको छ-

भिडियो हेर्न क्लिक गर्नुस्

यस्तो छ अहिलेको वास्तविक मतपत्रको नमूना। निर्वाचन आयोगका अनुसार हरेक लहरको एउटा कोठामा गरी पाँच वटा छाप लगाउनु पर्छ। छैटौँ र सातौँ लहरमा भने एकै लहरमा भएका वा छुट्टाछुट्टै लहरमा भएका आफूलाई मन लागेका कुनै दुई चिह्नमा छाप लगाउनु पर्छ।

मनाङ जिल्लाको मतपत्रको नमूना। अरु जिल्लाको हेर्न यहाँ क्लिक गर्नुस्। 

अहिलेको निर्वाचनमा कुन-कुन अवस्थामा मत बदर हुन्छ ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८  को दफा २६ र २७ मा मत बदर हुने विभिन्न अवस्था बारे यसरी व्याख्या गरेको छ-


तथ्य जाँच

दावी : नयाँ पत्रिकाको मुख्य समाचारको ‘यस्ता छन् मत बदर हुने ६ कारण’ शीर्षकमा मत बदर हुने विभिन्न अवस्था बारे चित्रको अन्तिम चित्रमा दुई लहरमा एक एक छाप लगाए पनि बदर हुने अवस्था देखाइएको।

तथ्य : भ्रामक सूचना। चित्र मुनि लेखिएको ‘मतपत्र १ र मतपत्र २ मा एकभन्दा बढी छाप लगाएमा’ बदर हुने वाक्यांश सही हो। तर यस पटकको स्थानीय तह निर्वाचनको मतपत्र चित्रमा देखाए जस्तो छैन। उपयोग गरिएको चित्र २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको हो। हालको स्थानीय तहको निर्वाचनमा समाचारमा प्रयोग गरिएको चित्रमा देखाइए जस्तो दुई वटा लहरमा एक एक छाप लगाउँदा बदर हुने अवस्था रहँदैन। तसर्थ नयाँ पत्रिकाको सम्बन्धित वाक्यांश सही भए पनि चित्र गलत छ। त्यसैले हामीले यसलाई भ्रामक सूचनाका रुपमा वर्गीकरण गरेका छौँ। हेर्नुस् हाम्रो वर्गीकरणको अर्थ


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add