तथ्यजाँच भ्रामक सूचना

के नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी हुन्?


के नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी हुन्?

पहिलो पटक एक नेपाली मूलकी युवती अन्तरिक्ष यात्री बनेको दावी गर्दै विभिन्न मिडियामा समाचार र सोसल मिडियामा पोस्टहरु भाइरल भएका छन्।

तर हाम्रो तथ्य जाँचमा यो सूचना भ्रामक देखिएको छ। समाचारहरुमा ‘अन्तरिक्ष यात्री’ लेखिए पनि खासमा ती युवतीले लिएको दावी गरिएको ट्रेनिङ पनि ‘एस्ट्रोनट ट्रेनिङ’ नभएर ‘रिसर्च’ मात्र भएको देखिएको छ।

कहाँ के लेखियो?

आज (२०७९ असार १९) को नागरिक दैनिकको पाँचौँ पेजमा दाङकी ज्योति ‘अन्तरिक्ष यात्री’ शीर्षकमा समाचार छापिएको छ।

नागरिककै अनलाइन संस्करणमा ‘अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती’ शीर्षकमा समाचार राखिएको छ। त्यसमा उनी अन्तरिक्ष यात्री बनेर घर फर्केको दावी गर्दै यस्तो लेखिएको छ- अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन्। सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन्।

समाचारमा थप लेखिएको छ- ‘अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन्। उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो। अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन्। यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो। उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन्।’

हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

३० लाखभन्दा बढी लाइक भएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले पनि आइतबार बिहान दाङकी ज्योति केसी नेपालबाट पहिलो अन्तरिक्ष यात्रीमध्येको एक भएको दावी गर्दै पोस्ट गरेको थियो। उक्त पोस्टमा आइतबार रातिसम्म ७२ हजार रियाक्सन, २७ सय कमेन्ट र ७ सयभन्दा बढी सेयर थिए।

रुटिन अफ नेपाल बन्दले ट्विटरमा पोस्ट गरेको सामग्री। यही व्यहोराको सामग्री फेसबुकमा पनि थियो

अरु अनलाइन मिडियाले पनि यो समाचारलाई प्राथमिकताका साथ लेखेका छन्। जस्तै शिलापत्रले उनी अन्तरिक्ष यात्री बनिसकेको बुझिने गरी शीर्षक राखेको छ-

समाचारमा अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गर्ने ज्योति सम्भवत पहिलो नेपाली हुन् भनी दावी गरिएको छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

त्यसैगरी अनलाइन मिडिया लोकान्तरले नेपाली मूलकी ज्योति केसी अन्तरिक्ष यात्रामा निस्कने शीर्षकमा समाचार राखेको छ। समाचारमा लेखिएको छ- नेपाली मूलकी ज्योति केसीले अन्तरिक्ष यात्रा गर्ने भएकी छन् । अमेरिकी वायुसेनामा भर्ती भई काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन् । दाङ भालुवाङमा जन्मिएर एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगेकी उनी अन्तरिक्ष यात्राको लागि प्रशिक्षण सम्पन्न गरेर तयारी गरिरहेकी छन् ।

हेर्नुस् अर्काइभ लिङ्क।

के हो तथ्य ?

यी समाचारहरुमा उल्लेख भए अनुसार उनले एनालग एस्ट्रोनटको कोर्स गरेकी हुन्। ज्योति केसीले आफ्नो फेसबुकमा लुनारेस रिसर्च स्टेसनमा ट्रेनिङ गरेको लेखेकी छिन्।

 

‘एस्ट्रोनट ट्रेनिङ’ होइन, ‘रिसर्च’

यसबारे थप जानकारी पाउन हामीले लुनारेसको आधिकारिक वेबसाइटमा खोज्यौँ।

लुनारेसले आफ्नो वेबसाइटमा स्पष्ट रुपमा लेखेको छ- यो एस्ट्रोनट ट्रेनिङ अर्थात् अन्तरिक्ष यात्रीको प्रशिक्षण होइन, रिसर्च अर्थात् अनुसन्धान हो।

लुनारेसको वेबसाइटमा उल्लेख भए अनुसार यस्तो एनालग एस्ट्रोनट प्रोग्राममा सहभागी हुन जोकोही योग्य हुन्छन्- विद्यार्थी, कर्पोरे्ट कर्मचारी, कलाकार, अनुसन्धानकर्मी, एडभेन्चरर, यात्रु, पत्रकार, इन्जिनीयर, अवकाशप्राप्त व्यक्ति, शारीरिक अपाङ्गता भएका व्यक्ति पनि। शर्त रहेछ- २० वर्षभन्दा माथि हुनुपर्‍यो, स्वस्थ हुनुपर्‍यो र संक्रामक रोग लागेको हुनुभएन।

हेर्नुस् वेबसाइटमा उल्लेख भएका विवरण। 

एनालग एस्ट्रोनटले पृथ्वीमै अन्तरिक्षमा हुँदाको जस्तो वातावरण बनाइएको ठाउँमा निश्चित अवधिसम्म बसेर अन्तरिक्ष यात्रीको भूमिकामा रहेर विभिन्न अनुसन्धानमा सघाउने काम गर्छ।

नासाको वेबसाइटमा उल्लेख भए अनुसार सबै प्रयोगहरु अन्तरिक्षमा गर्नका लागि समय, धन, उपकरण र जनशक्ति पर्याप्त हुँदैन। त्यही भएर यस्ता एनालग मिसनहरु जरुरी हुन्छ।

लुनारेसको वेबसाइटमा उसको दुई हप्ताको मिसनमा सहभागी हुन १ हजार ७५० युरो लाग्ने जानकारी राखिएको छ

अर्थात् दुई लाख ३० हजार रुपैयाँ जति शुल्क बुझायो भने तपाईँ पनि यस्तो एनालग मिसनमा सहभागी हुन सक्नु हुन्छ। यसमा सहभागी हुँदैमा ‘अन्तरिक्ष यात्री’ भइने होइन।

अन्तरिक्षमा जस्तो वातावरण हुन्छ, त्यस्तै वातावरणमा २५ मे देखि ११ जुन २०२२ सम्मको मिसनमा उनी एनालग एस्ट्रोनटका रुपमा बसेको लुनारेसको फेसबुक पेजमा उल्लेख छ।

तथ्य जाँच

दावी : दाङ घर भएकी नेपाली मूलकी ज्योति केसी पहिलो नेपाली अन्तरिक्ष यात्री बनिन्।

तथ्य : भ्रामक सूचना। जुन मिसनमा उनी सहभागी भएकी हुन्, त्यसैको अर्थात् लुनारेसको वेबसाइटमा नै यो एस्ट्रोनट ट्रेनिङ अर्थात् अन्तरिक्ष यात्री प्रशिक्षण होइन रिसर्च अर्थात् अनुसन्धान हो भनेर लेखिएको हुनाले यो सूचना भ्रामक देखिन्छ।

उनी अन्तरिक्ष यात्री भएकी होइनन्, अन्तरिक्ष यात्रीको अनुसन्धानमा सहभागी भएकी हुन्। अन्तरिक्षमा गएकी होइनन्, अनुसन्धानका लागि पृथ्वीमै अन्तरिक्ष जस्तो वातावरण बनाइएको स्थानमा दुई हप्ता बसेकी हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add