तथ्यजाँच मिथ्या सूचना

के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?


के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पनौतीको एउटा वनमा पाटे बाघको फोटो खिचेको दावीसहित राखिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त फोटो सम्पादन गरी राखेको देखिएको छ। वास्तविक फोटो पाँच वर्षअघि खिचेको पाइएको छ।

के छ भाइरल दावीमा ?

२०८० फागुन १२ गते पनौतीस्थित तेजगंगा क्याम्पसका प्रमुख अम्बु भवानी कार्की नामको फेसबुक प्रोफाइलमा एउटा फोटो पोस्ट भयो, जसमा क्याप्सन लेखिएको थियो, ‘पनौती थल्पु वनमा हिजो देखिएको पाटे बाघनजिक गएर खिच्न नसकेर जुम गरेर अलि टाढाबाट खिचेको दृश्य २०८० फागुन १२’

फेसबुक पोस्टको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्

पोस्ट भएको १९ घण्टामा यो पोस्टमा २४४ रियाक्सन, ९३ कमेन्ट र १६ सेयर देखिन्थ्यो।

उक्त पोस्ट छिट्टै नै वन्यजन्तुसम्बन्धी चर्चा हुने फेसबुक ग्रुपहरुमा पनि भाइरल भयो। ‘भ्वाइस अफ नेचर’ फेसबुक ग्रुपमा केहीले यो पोस्टको सत्यतामा शंका गरे।

यसै क्रममा वन अधिकृत कुशराज गोलेले किटानीका साथ उक्त फोटो बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी इन्द्र जैसीले बर्दियामै सन् २०१९ को मेमा खिचेको दावी गरे।

हामीले गोलेसित यसको ओरिजिनल फोटो उपलब्ध गराउन आग्रह गर्‍यौँ। उनले त्यतिबेला खिचेका तीन वटा फोटोहरु पठाए।

पहिलो फोटो (5.2 mb)

दोस्रो फोटो (5.4 mb)

तेस्रो फोटो (4.4 mb)

हामीले तेस्रो फोटोलाई ध्यान दिएर हेर्‍यौँ। यस्तो छ तेस्रो फोटो-

हामीले भाइरल फोटोलाई अनलाइन फोटो एडिटर टुलबाट हल्का उज्यालो बनाई हेर्‍यौँ र त्यसलाई ओरिजिनल फोटोसँग तुलना गर्‍यौँ-

हामीले फोटो पत्रकार क्लब (पीजे क्लब नेपाल) का पूर्व अध्यक्ष तथा अनुभवी फोटो पत्रकार विकास कार्कीलाई दुवै फोटो देखाएर यी फोटो एउटै हुन् कि हैनन् भनी सोध्यौँ।

उनले दुवै फोटो एउटै भएको बताए।

उनले भाइरल फोटोमा देखिएको बुट्यान, बाघ र बुट्यानको दूरी, बाघको जिउमा देखिएको लाइटिङ हुबहु भएको प्रष्ट पार्दै ओरिजिनल फोटोलाई सम्पादन गरेर भाइरल बनाइएको प्रष्ट पारे।

‘दुई फोटो फरक भएको भए यति धेरै समानता हुने थिएन’, कार्की भन्छन्।

दुई फोटो एउटै भएको निश्कर्षमा पुगेपछि हामीले ओरिजिनल फोटो कहाँ र कहिले खिचिएको हेर्ने प्रयास गर्‍यौँ। यसका लागि हामी पिकटुम्याप डट कममा गयौँ।

फोटोमा जिपिएस लोकेशन नभएकोले मेटाडेटाबाट हामीले यो फोटो कुन ठाउँमा खिचिएको प्रमाणित रुपमा पुष्टि गर्न त सकेनौँ तर क्यानन पावरसट क्यामेराबाट २०१९ को मे ११ तारिखमा खिचेको पुष्टि गर्न सक्षम भयौँ।

भाइरल भएको पोस्टमा गरिएको दावीभन्दा पाँच वर्ष अघि वास्तविक फोटो खिचेको देखिएको हुनाले उक्त फोटोमा गरिएको दावी मिथ्या भएको निश्कर्षमा हामी पुग्यौँ।

तथ्य जाँच

दावी :  पनौतीको थल्पु वनमा २०८० फागुन १२ गते पाटे बाघ देखिएको दावीसहितको फोटो।

दावीकर्ता : अम्बु भवानी कार्की।

तथ्य : मिथ्या सूचना। उक्त फोटो बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी इन्द्र जैसीले सन् २०१९ को मे ११ तारिखमा खिचेको दावी वन अधिकृत कुशराज गोलेले गरे। हामीले फोटोको प्राविधिक विश्लेषण र मेटाडेटाबाट दुवै फोटो एउटै भएको र फोटो पुरानो भएको फेला पार्‍यौँ। तसर्थ भाइरल दावी मिथ्या भएको निश्कर्ष हाम्रो रह्यो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add