- सुरज घिमिरे
- जेष्ठ १२, २०८३

आइजिपी कार्कीले हर्क साम्पाङलाई चेतावनी दिएको भिडियो एआई निर्मित
सामाजिक सञ्जालमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य भनी उल्लेख गरिएका हर्क साम्पाङलाई पदबाट हटाउने चेतावनी दिएको एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँच र प्राविधिक विश्लेषणबाट उक्त भिडियो एआई प्रयोग गरी बनाइएको पुष्टि भएको छ।
के हो दाबी ?
१४ हजार फलोअर्स भएका फेसबुक प्रयोगकर्ता रिकेश रोकायाले शुक्रबार (मे २२, २०२६) एउटा भिडियो पोस्ट गरे। उक्त भिडियोको सुरुमा उनले भनेका छन्, ‘साथीहरू एकदमै खुसीको खबर आएको छ, सबै जनाले सक्दो शेयर गरौं है त ।’
त्यसपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की बोलिरहेको जस्तो देखिने दृश्य र आवाज आउँछ। उक्त क्लिपमा भनिएको छ:
‘माननीय हर्क साम्पाङको लागि आयो अत्यन्तै दुःखद खबर। हर्क साम्पाङले जो प्रतिनिधिसभाको बैठकमा देखाइराख्नुभएको अभद्र व्यवहार, सभामुखसँग मुखमुखै लाग्ने यो एउटा लाजमर्दो हर्कतले गर्दा हर्क साम्पाङको संसदीय पद लगायत उहाँको श्रम संस्कृति पार्टीलाई पनि अब फेरी पनि यस्तो हर्कत गरेमा नेपालकै संविधानबाट हटाइने निर्णय गरिएको छ। हो मलाई लाग्छ, नेपालका तीन करोड जनता सहमत हुनुहुन्छ। यदि तपाईँ सहमत हुनुहुन्छ भने कमेन्टमा जय बालेन लेख्नुहोस्।’
दाबीको प्रभाव (भाइरालिटी)
हामीले तथ्य जाँच गर्दासम्म उक्त भिडियोलाई ९१ हजारभन्दा बढी पटक हेरिएको छ। यसमा ७ हजार ५ सयभन्दा बढी लाइक, १ हजार ५ सयभन्दा बढी कमेन्ट र १ हजार ४ सय पटक सेयर भइसकेको छ।
हेर्नुहोस्, भिडियोको स्क्रिन रेकर्ड
उक्त भिडियोको लिङ्क, अर्काइभ लिङ्क र अर्काइभ भिडियो
के हो तथ्य ?
यो दाबीको सत्यता जाँच्न हामीले खुला स्रोत र प्राविधिक विश्लेषणको विधि अपनायौँ:
१. सञ्चारमाध्यम र आधिकारिक स्रोतको खोजी: हामीले सुरुमा गुगलमा ‘आइजिपी कार्की, हर्क साम्पाङ, श्रम संस्कृति पार्टी, दानबहादुर कार्की, प्रहरी’ जस्ता मुख्य शब्दहरू (की वर्डस्) राखेर खोज्यौँ। नेपालको कुनै पनि विश्वसनीय सञ्चारमाध्यम, सङ्घीय संसद्को सचिवालय वा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा महानिरीक्षक कार्कीले यस्तो राजनीतिक वा कानुनी विषयमा अभिव्यक्ति दिएको कुनै प्रमाण फेला परेन।
२. प्राविधिक विश्लेषण: भिडियोमा आइजिपी कार्कीले बोल्दा लिपसिङ्क नमिलेको (ओठको चलाई र आवाजमा अन्तर) र शारीरिक हाउभाउ अस्वाभाविक देखिएपछि हामीले उक्त डिजिटल सामग्रीको प्राविधिक परीक्षण गर्यौँ। गुगलको सिन्थ आइडी प्रविधिको परीक्षणबाट भिडियोको १० सेकेन्डदेखि अन्त्यसम्मको दृश्य र आवाज एआई प्रविधिद्वारा निर्मित वा ‘डीपफेक’ (Deepfake) गरिएको पुष्टि भयो।
संवैधानिक र कानुनी व्यवस्था के छ?
दाबीमा उल्लेखित पद र संरचनाबारे नेपालको विद्यमान कानुनी व्यवस्था यस प्रकार छ:
-
संसद्को नियमावली: प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३१ अनुसार कुनै सदस्यले संसद्मा अभद्र व्यवहार गरेमा वा बैठकमा अवरोध गरेमा सभामुखले सचेत गराउने वा बढीमा १५ दिनसम्मका लागि निलम्बन गर्न सक्ने प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था छ। संसद्को अभद्र व्यवहारकै आधारमा सिधै पद खारेज हुने व्यवस्था छैन।
-
सांसद पद रिक्त हुने अवस्था: नेपालको संविधानको धारा ८७ र ८९ अनुसार सांसदको पद रिक्त हुनका लागि लिखित राजीनामा, आवश्यक योग्यताको अभाव, ६० दिनसम्म लगातार बैठकमा अनुपस्थित, दल त्याग गरेको वा मृत्यु भएको अवस्था हुनुपर्छ।
-
सुरक्षा निकायको क्षेत्राधिकार: नेपालको सुरक्षा निकाय वा प्रहरी प्रमुखलाई कुनै पनि निर्वाचित वा संसद्का प्रतिनिधि वा राजनीतिक दललाई हटाउने वा प्रतिबन्ध लगाउने संवैधानिक अधिकार हुँदैन।
नेपालफ्याक्टचेकले यसअघि अप्रिल र मे २०२६ मा पनि आइजिपी कार्कीका नाममा फैलाइएका यस्तै प्रकृतिका एआई निर्मित भिडियोहरूको तथ्य जाँच गरी मिथ्या पुष्टि गरिसकेको छ।
हेर्नुहोस्, यसअघि गरिएका तथ्य जाँचहरू :
प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिएको भनिएको भिडियो एआई निर्मित, दाबी मिथ्या
सुधन गुरुङबारे आईजीपी दानबहादुर कार्कीको भाइरल भिडियो ‘एआई’बाट बनेको
तथ्य जाँच
दाबी : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई सांसद पदबाट हटाउने चेतावनी दिएको भाइरल भिडियो ।
दाबीकर्ता : रिकेश रोकाया नामक फेसबुक प्रयोगकर्ता ।
तथ्य/निश्कर्ष : मिथ्या (False) । प्रहरी महानिरीक्षक कार्कीले हर्क साम्पाङ वा कुनै राजनीतिक दलका विषयमा यस्तो चेतावनी दिएका छैनन्। प्राविधिक परीक्षणबाट यो भिडियो एआई निर्मित भएको पुष्टि हुन्छ। साथै, नेपालको कानुनी व्यवस्था अनुसार सुरक्षा निकायका प्रमुखलाई संसद्का सदस्य हटाउने कुनै अधिकार हुँदैन।